Nepal Idol contest

in #nepali7 years ago

को इतिहासमा सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडलको यात्रा अहिले उत्कृष्ट ६ मा आइपुगेको छ । यो क्रम उत्कृष्ट तीनसम्म निरन्तर चल्नेछ । यस अर्थमा अब तीनजना प्रतियोगी बाहिरिनेछन् । बाँकी तीनजना अन्तिम प्रतिस्पर्धामा उत्रिनेछन् । अन्तिम प्रतिस्पर्धामा उत्रिएका तीनमध्ये एकजना विजेताले नेपाल आइडलको सान र मान पाउनेछन् ।
त्यो भाग्यमानी को हुने हो भन्ने बहस सुरु भइसकेको छ । कतिपयले बाजीसमेत राख्न थालेका छन् । नेपालमा पहिलो पटक भित्र्याइएको अन्तर्राष्ट्रिय फ्रेन्चआइच सोको विजेता बनेर इतिहास रच्ने अवसर कसले पाउने हुन् त्यो भने समयले तय गर्नेछ । नेपाल आइडलका बारेमा संगीतकर्मीहरू के भन्छन् त ?

चर्चाको विषय बनेको छ
नेपाल आइडलको आयोजनासँगै हजारौं युवाको सपना चल्मलाउन थालेको छ । संगीत क्षेत्रमा लागेर भविष्य खोज्नेहरूका लागि गतिलो प्लेटफर्मको सुरुवात भएको छ । नेपालमा यो स्तरको कार्यक्रम हुनु सम्पूर्ण संगीतप्रेमीका लागि गौरवको विषय हो । अहिले यो कार्यक्रम जताततै चर्चा र बहसको विषय बनेको छ । प्रतियोगीको कुरा गर्ने हो भने पनि उत्कृष्ट १२ मा परेका सबैको स्वरउत्तिकै सशक्त र प्रभावकारी लाग्छ । अहिले उत्कृष्ट ६ मध्ये जो नेपाल आइडल घोषणा भए पनि डिजर्व गर्न सक्ने सामथ्र्य उनीहरूको स्वरमा छ । हजारौंमध्ये छानिएर यो स्थानमा आउनु आफैंमा जित हो।
-शान्तिराम राई, संगीतकार
तरंग पैदा गरेको छ
आँखालाई आनन्द लाग्ने र कानलाई पनि सुनिरहुँजस्तो हुने सो हेर्न पाएका छौं । नेपाल आइडल सांगीतिक क्षेत्रका लागि महत्वपूर्ण देखिएको छ । श्रोतादर्शकमा अहिले तरंग पैदा गरेको छ । विदेशी च्यानल हेरेर मनोरञ्जन लिनेहरूलाई पनि यसले आकर्षित गरेको छ । अन्य टेलिभिजनलाई अब यही स्तरको कार्यक्रम बनाउनुपर्छ भन्ने चुनौती थपिदिएको छ । नयाँ प्रतिभालाई गाउनमा अझ मेहनत गर्न प्रेरित गरेको हुनुपर्छ । तर प्रतियोगितामा अझ ‘र’कलाकारलाई ल्याएको भए राम्रो हुन्थ्यो । नेपाल आइडल कच्चा कलाकारलाई ल्याएर परिपक्व बनाउने चमत्कारी प्लेटफर्म बन्नु पर्छ।
-हेमन्त शर्मा, गायक
निरन्तरता पाओस
नेपाल आइडल नेपाली सांगीतिक क्षेत्रका लागि यो ठूलो अवसर हो । यसले पुराना पुस्तालाई सचेत र नयाँ पुस्तालाई जागरुक बनाउने काम गरेको छ । गायनमा करियर बनाउन चाहनेलाई कसरी तयारी गर्ने, कति मेहनत गर्ने भन्ने चेतना दिएको छ । नेपाली प्रतिभा र आयोजक अब यो स्तरका लागि तयार भइसकेको छ भन्ने सन्देशसमेत दिएको छ । पहिलो सिजन भएकाले केही कमी, कमजोरी होलान् त्यसलाई सुधार गर्दै आगामी सिजनमा अघि बढ्नुपर्छ । प्रतियोगीलाई अझै प्रशिक्षण पुगेको छैन कि जस्तो लाग्छ । नेपाल आइडलले निरन्तरता पाओस् ।
दीप श्रेष्ठ, गायक
उत्सव बन्न सक्छ
अन्तर्राष्ट्रिय फ्रेन्चआइच नेपालमा आउनु ठुलो कुरा हो । नेपाल आइडलजस्तो प्रतियोगिताले राम्रो गायकगायिकाको खोजीमात्रै होइन राम्रो श्रोतादर्शक पनि तयार गर्छ । बजारका दृष्टिले राम्रो श्रोतादर्शक पाउनु ठुलो कुरा हो । यो सोले निरन्तरता पायो भने संगीतप्रेमीका लागि हरेक वर्ष उत्सव बन्न सक्छ । एउटा महत्वपूर्ण कुरा प्रतियोगीलाई सकभर संगीतको भाषामा धेरै कुरा भनिदिनुपर्छ । जस्तो राम्रो भएन भने यो कारणले भएन, राम्रो भयो भने यो कारणले भनेर खुलस्त पारिदिनु पर्छ । यसले अरूलाई पनि सिकाउँछ । जसले नेपाली संगीतको स्तर अभिवृद्धिमा मद्दत पुर्‍याउँछ ।
-राजु सिंह, संगीतकार
मापदण्डलार्इ स्वीकार्नुपर्छ
क्षमता भएका मान्छे गाउँगाउँमा हुन सक्छ । उनीहरूलाई ल्याएर स्थापित गराउन नेपाल आइडलजस्तो ठूलो मञ्च चाहिन्छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त सो नेपालमा सुरु हुनु त खुसीको कुरा हो । अहिले उत्कृष्ट ६ मा परेका सबैमा उत्तिकै सम्भावना छ । तापनि कोही न कोही त स्थापित मान्यता र मापदण्डका आधारमा बाहिरिनै पर्छ । त्यसलाई प्रतियोगी, दर्शक सबैले स्विकार्नुपर्छ । तर नयाँ पुस्तामा मलाई मन परेको ठीक, मन नपरेको बेठीक भन्ने भावना जसरी देखियो त्यो गलत हो । अहिले निर्णायकलाई जसरी गाली गरिँदैछ यस्तै अवस्था रह्यो भने भविष्यमा निर्णायक नपाउन सकिन्छ ।
-राजेन्द्र थापा, गीतकार
संघर्ष जारी राख्नुपर्छ
गायनमा क्षमता भएका तर अवसर नपाएका नयाँ पुस्ताका लागि नेपाल आइडल राम्रो प्लेटफर्म हो । अहिले उत्कृष्ट ६ सम्म आइपुगेका प्रतियोगीहरूले आफूलाई भर्सटाइल सिंगरका रूपमा स्थापित गरिसकेका छन् । भारतमा यस्ता धेरै रियालिटी सो हुन्छ । कपितय विजेता त्यत्तिकै हराएका छन् भने सहभागीहरू चम्केका उदाहरण प्रशस्त छ । त्यसैले जसले जिते पनि संघर्ष जारी राख्नुपर्छ । प्रतियोगितालाई अझ मनोरञ्जनात्मक बनाउन विभिन्न सेग्मेन्टहरू समावेश गर्नुपर्छ । प्रतियोगीका दुःखसुखका कुरा बेलाबेलामा दिन सक्यो भने त्यसले अझ बढी भिवर्स पाउँछ ।
-मिलन अमात्य, गायिका

नेपाल आइडलका उत्कृष्ट ६ प्रतियोगी
सुरज थापा
नेपालगन्जका सुरज थापा नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका छन् । राजधानीबाट अडिसन दिएका उनी आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन् । नेपाल आइडलजस्तो विख्यात स्टेजमा उभिएर उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नु चानचुने विषय होइन । यो उपलब्धिबाट उनी पनि निकै खुसी र उत्साहित छन् । उपाधिका लागि आफूलाई दाबेदार मान्ने सुरज रेडियो नेपालमा पुराना कलाकारका गीत सुनेर गीतसंगीतप्रति आकर्षित भएका हुन् । ३० वर्षीय उनले आईए गरेका छन् ।
प्रताप दास
सबै खाले गीत सुन्न र गाउन मन पराउने प्रताप दास नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् । ललितपुर झरुवारासीका २२ वर्षीय प्रताप पारिवारिक वातावरण नै सांगीतिक भएकाले यस क्षेत्रप्रति आकर्षित भएका हुन् । लगभग तीन वर्ष गायनसम्बन्धी प्रशिक्षण लिएका उनी नारायणगोपाल र कर्णदासको स्वरबाट प्रभावित छन् । स्नातक अध्ययनरत उनी अहिले आफ्नो एकमात्र लक्ष्य नेपाल आइडल भएको बताउँछन् । प्रतियोगितामा उत्कृष्ट ६ सम्म आइपुग्दा उनले निकै रोमाञ्चक अनुभूति गरेका छन् ।
सुजाता पाण्डेय
नेपाल आइडलमा सहभागी हुन चाहने हजारौंलाई उछिन्दै उत्कृष्ट ६ सम्म आइपुग्ने एकमात्र महिला प्रतियोगी हुन्, सुजाता पाण्डेय । बुटवलकी २१ वर्षीया सुजाता अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउँछिन् । बुटवलबाट अडिसन दिएकी उनको पनि लक्ष्य जित नै हो । नेपाल आइडलमा आएपछि गायनसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ । बीबीएस अध्ययनरत उनी परिवारको साथ र दर्शकको मायाका कारण नेपाल आइडलजस्तो गरिमामय प्रतियोगितामा यहाँसम्मको यात्रा तय सम्भव भएको बताउँछिन् ।
निशान भट्टराई
दुईवटा चर्चित प्रतियोगितामा मोरङ उर्लाबारीका दुई प्रतियोगी देखा परे । नेपाल आइडलमा निशान भट्टराई र मिस नेपालमा निकिता चान्डक । निकिताले ताज चुमेर उर्लाबारीवासीबाट स्याबासी पाइसकेकी छन् भने निशान त्यस्तै इतिहास बनाउन प्रयासरत छन् । बीबीएस अध्ययनरत २१ वर्षीय भट्टराई सानैदेखि गीतसंगीतप्रति रुचि राख्थे । निशानको गायनकलाका कारण उनी पनि नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् । गजल, आधुनिक गायनमा रुचि राख्ने उनी सबै खाले गीत गाउन सक्छन् ।
सागर आलेमगर
प्लस टु गरेका सागर आलेमगरले पनि नेपाल आइडलमा उत्कृष्ट ६ सम्मको यात्रा तय गरेका छन् । चितवनका २० वर्षीय मगर सबै प्रकारका गीत सुन्न र गाउन मन पराउँछन् । अहिलेसम्म औपचारिक रूपमा संगीत नसिके पनि उनको गायनकौशल र स्वर लोभलाग्दो छ । नेपाल आइडलमा आएर आफूले संगीतसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ । परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आकर्षित भएका आलेमगरले नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका थिए ।
बुद्ध लामा
नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका पोखरा, नयाँबजारका बुद्ध लामा अहिलेसम्म बटम लाइनमा परेका छैनन् । प्लस टु अध्ययनरत २० वर्षीय लामा प्रतियोगिताका प्रबल दाबेदारमा पर्छन् । दिदी र दाइका कारण गायन क्षेत्रमा लाग्न सम्भव भएको बताउने उनी पुराना र आधुनिक शैलीका गीत मन पराउँछन् । नेपाल आइडलमा आएपछि उनले जति मेहनत गरेका छन्, श्रोता दर्शकको साथ पनि त्यत्तिकै पाउँदै आएका छन् । सामान्य परिवारका बुद्धलाई मेहनत र गायनकौशलकै कारण धेरैले मन पराएको देखिन्छ ।nepal_idol_top_6-59964ecaab5bf3.44501400.jpgnepal_idol_top_6-59964ecaab5bf3.44501400.jpg

Coin Marketplace

STEEM 0.20
TRX 0.12
JST 0.029
BTC 60946.76
ETH 3395.14
USDT 1.00
SBD 2.57